११ फागुन, काठमाडौं । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौंडा नजिक पृथ्वी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस सोमबार बिहान करिब १ः३० बजे त्रिशूली नदीमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो।
घाइतेहरूलाई उद्धार गरी नजिकका स्वास्थ्य संस्था तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ भने दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको छ।
दुर्घटनापछि पृथ्वी राजमार्गमा केही समय यातायात प्रभावित भएको थियो। मृतकहरूको पहिचान खुलाउने तथा थप विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





