अम्बिकाप्रसाद तिमिल्सेना/ ‘हेल्लो, ढोग गरेँ बुवा ।’ एकाबिहानै मोबाइलको घण्टी बज्यो । फोनको अर्को छेउबाट बुवाको आवाज आयो, ‘भाग्यमानी हुनू ।’
सञ्चोबिसञ्चो सोधखोजपछि बुवाले मुख्य कुरा उठाउनुभयो, ‘रोपाइँ गर्न कहिले आउँछस् ?’
मैले पनि सहजै उत्तर दिएँ, ‘कहिले सुरु गर्ने हो, त्यहीअनुसार बिदा मिलाएर आउँछु ।’
बुवाले भन्नुभयो, ‘असार १५ तिर पानी पर्ने रे । त्यही बेला सुरु गरौँला ।’
मौसमको पूर्वानुमानप्रति खासै विश्वास नलागे पनि बुवाको अनुभवमाथि भरोसा थियो । त्यसैले कर्मथलोबाट बिदा लिएर गाउँ पुगेँ ।
घर पुगेपछि हातमुख धुन नल्कामा गएँ । मोटर चलाएँ, तर पानी आएन । आमाले भन्नुभयो, ‘त्यो मोटरले त धेरै दिनदेखि पानी तानेको छैन । हामी त बोरिङको मोटर चलाएर पानी खाने गरेका छौँ ।’
एकछिन अतीत सम्झिएँ । कुनै बेला हाम्रो नल्काको चिसो पानी खान छिमेकीहरू पनि आउने गर्थे । आज त्यही नल्का सुकिसकेको छ ।
जलवायु परिवर्तनसँगै भूमिगत पानीको सतह तल झरेको यथार्थले मन खिन्न बनायो । त्यसैबीच, बुवासँग फेरि मौसमकै कुरा उठ्यो । ‘भोलिदेखि पानी पर्छ भन्नुहुन्थ्यो, तर आकाशमा बादल नै छैन,’ मैले भनेँ । बुवाले पनि मुस्कुराउँदै भन्नुभयो, ‘पर्छ त भन्थे, खै के हो !’
राति अबेरसम्म गफिँदै बस्यौँ । एक्कासि उत्तरतिर बिजुली चम्कियो । बुवाले उत्साहित हुँदै भन्नुभयो, ‘आकाश त चम्कियो, पानी पर्ला कि !’
आमाले भने धेरै आशावादी नहुँदै उत्तर दिनुभयो, ‘परे त हुन्थ्यो नि !’
केहीबेरमै झमझम वर्षा सुरु भयो । गर्मीले थलिएको वातावरणमा त्यो वर्षाले राहत दियो । तर, बुवाको रात भने आरामदायी रहेन । वर्षाको पानी मेडा (आली) फुटेर नबगोस् भनेर उहाँ राति नै फरुवा (कोदालो) बोकेर खेततिर लाग्नुभएको रहेछ । म भने वर्षाको शीतलतामा निदाएँ ।
बिहान उठेर बाहिर निस्कँदा खेतभरि पानी देखियो । बुवाको अनुमान ठ्याक्कै मिलेको थियो ।
त्यही बेला अघिल्ला वर्षहरूमा मल नपाएर किसानले भोगेका दुःख सम्झिएँ, साथै मलको अभावले गर्दा किसानहरूलाई गाह्रो परेको कुरा विभिन्न समाचारमा पनि आई नै रहेको थियो । हतारिँदै बुवालाई सोधेँ, ‘यसपालि मल पो के गर्ने होला ?’
बुवाले हाँस्दै भन्नुभयो, ‘अस्ति नै ल्याइसक्यौँ । यसपालि त सजिलै पाइयो ।’
सायद सरकारी व्यवस्थापन सुध्रिएको थियो वा किसानहरू समयमै सचेत भएका थिए । जे भए पनि समयमै मल उपलब्ध हुनु किसानका लागि ठूलो राहत थियो ।
यसपालि देखेको अर्को परिवर्तन भनेको कृषि यन्त्रीकरण थियो । ट्र्याक्टरले एकै दिनमा डेढ बिघाभन्दा बढी जमिन रोपाइँयोग्य बनाइदिने रहेछ । बुवाले विगत सम्झिँदै भन्नुभयो, ‘पहिले गोरुले महिनौँ लगाएर जोतिन्थ्यो, अहिले ट्र्याक्टरले केही घण्टामै काम सकाइदिन्छ ।’
पर्याप्त वर्षा भएकाले बोरिङबाट थोरै मात्र पानी तानेर पनि रोपाइँ सहज रूपमा सम्पन्न भयो । तर, गाउँको पुरानै समस्या –श्रमिकको अभाव– अझै पनि उस्तै छ । यसको मुख्य कारण युवाहरूको वैदेशिक रोजगारीतर्फको पलायन र कृषि पेसाप्रतिको बढ्दो उदासीनता हो ।
विडम्बना त के छ भने, भारतमा गएर जोखिमपूर्ण काम गर्न तयार हुने युवाहरू आफ्नै गाउँमा खेतबारीमा काम गर्न भने रुचाउँदैनन् । त्यसैले अरुले रोपाइँ सुरु गर्नुअघि वा सबैले सकिसकेपछि मात्र आफ्ना खेतमा रोपाइँ सुरु गर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन । यदि सबैको रोपाइँ एकै समयमा परे रोपाहार र बाउसे पाउन निकै कठिन हुन्छ । यही कारण धेरै किसानले आफ्नो खेतीपातीको समयसमेत श्रमिकको उपलब्धतालाई हेरेर मिलाउनुपर्ने अवस्था छ ।
रोपाइँमा लैङ्गिक भूमिकाको विभाजन अझै पनि स्पष्ट देखिन्थ्यो । खेतमा रोप्ने काम अधिकांश महिलाले गरिरहेका थिए भने जोत्ने, मल छर्ने, बिउ बोक्ने तथा अन्य शारीरिक रूपमा बढी श्रम लाग्ने काम पुरुषहरूले सम्हालिरहेका थिए । लैङ्गिक समानता र सचेतना अभिवृद्धिका लागि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न पहलहरू भएका कारणले व्यवहारमा केही सकारात्मक परिवर्तन देखिएता पनि परम्परागत लैङ्गिक भूमिकाको विभाजन पूर्ण रूपमा अन्त्य हुन भने अझै सकेको छैन ।
जलवायु परिवर्तनको प्रभाव खेतीपातीमा प्रत्यक्ष देखिन थालेको छ । दिउँसो बादल नलागे तापक्रम अत्यधिक बढ्ने भएकाले दिनभर काम गर्न कठिन हुन्छ । त्यसैले किसानहरूले पनि समयसँगै आफ्नो कार्यतालिका परिवर्तन गरेका छन् ।
यदि किसानले आफ्नै पसिना बगाएर उत्पादन गरेको धानको मूल्य उत्पादन लागतभन्दा कम पाउँछ भने कृषिमा नयाँ पुस्ताको आकर्षण कसरी बढ्ला ?
बिहान सबेरैदेखि काम सुरु गर्ने, दिउँसोको चर्को गर्मीमा केही घण्टा विश्राम गर्ने र साँझ फेरि काममा फर्किने अभ्यास अहिले सामान्य बन्दै गएको छ । यो बदलिँदो मौसमसँगको व्यावहारिक अनुकूलन हो । उहिले दिनभरिको झरीसँगै दिनभरि नै काम गरिन्थ्यो, बुवाले पुराना दिन स्मरण गर्दै भन्नुभयो ।
धेरै जनशक्ति, यन्त्रको प्रयोग र समयमै परेको वर्षाका कारण हाम्रो रोपाइँ सोचेको भन्दा चाँडो सम्पन्न भयो ।
रोपाइँ सकिएपछि साँझ आँगनमा बसिरहेको बेला भाइ दिनेशले एउटा गम्भीर प्रश्न उठायो ।
‘दाजु, यो रोपाइँ गरेर खासै फाइदा देखिनँ ।’
मैले कारण सोधेँ । उसले रोपाइँको सम्पूर्ण खर्च र उत्पादनको हिसाब निकालिसकेको रहेछ ।
उसको विश्लेषणअनुसार एक बिघा धान खेतीमा कुल ७३ हजार २ सय रुपैयाँ उत्पादन लागत लागेको थियो । उत्पादन भने करिब २५ क्विन्टल हुने अनुमान थियो । यस हिसाबले प्रतिक्विन्टल उत्पादन लागत २ हजार ९ सय २८ रुपैयाँ पर्न आउँथ्यो । तर, बजारमा किसानले सामान्यतया प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा पाउने अवस्था रहेकाले प्रतिक्विन्टल करिब ४ सय २८ रुपैयाँ घाटा हुने देखिन्थ्यो ।
यद्यपि, सरकारले प्रतिक्विन्टल लगभग ३ हजार ५ सय समर्थन मूल्य तोकेको भए पनि अधिकांश किसानले त्यो मूल्यमा धान बिक्री गर्न पाएका छैनन् । सरकारी समर्थन मूल्य र वास्तविक बजार मूल्यबीचको यो अन्तर पनि किसानका लागि ठूलो पीडा बनेको छ ।
लागत हिसाबकिताबले कामदारको दैनिक ज्यालामा सबैभन्दा ठूलो खर्च रहेको देखायो । त्यसपछि ट्र्याक्टर, मल, सिँचाइ, दाउनी, जोताइ तथा अन्य कृषि कार्यमा उल्लेखनीय खर्च हुने रहेछ । यसले श्रम लागत र कृषि यन्त्रीकरणसँग सम्बन्धित खर्च नै उत्पादन लागत बढाउने प्रमुख कारण भएको स्पष्ट हुन्छ ।
यो यथार्थले एउटा गम्भीर प्रश्न उठाउँछ: यदि किसानले आफ्नै पसिना बगाएर उत्पादन गरेको धानको मूल्य उत्पादन लागतभन्दा कम पाउँछ भने कृषिमा नयाँ पुस्ताको आकर्षण कसरी बढ्ला ?
धान खेतीलाई आर्थिक रूपमा दिगो बनाउन उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने रणनीति अपरिहार्य छ । कृषि यन्त्रीकरणको थप विस्तार, उच्च उत्पादन दिने उन्नत प्रविधि र बिउको प्रयोग, सन्तुलित मल व्यवस्थापन, प्रभावकारी सिँचाइ, श्रम व्यवस्थापनमा सुधार, कृषि परामर्श सेवाको विस्तार तथा किसानले उत्पादनको उचित मूल्य पाउने सुनिश्चित बजार प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो ।
माथिको विश्लेषणलाई आधार मान्ने हो भने कृषि प्रवर्द्धनका लागि निम्न विषयहरूलाई प्राथमिकतामा राख्न आवश्यक देखिन्छ:
१. जलवायुअनुकूल कृषि तथा सिँचाइ प्रणालीको विकास
- जलवायु परिवर्तनका कारण घट्दो भूमिगत पानी र अनियमित वर्षालाई ध्यानमा राखी दिगो सिँचाइ प्रणाली, जल संरक्षण तथा जलवायु अनुकूल कृषि प्रविधिमा लगानी बढाउनुपर्छ ।
- किसानलाई भरपर्दो मौसम पूर्वानुमान र कृषि मौसम परामर्श सेवा उपलब्ध गराउनुपर्छ ।
२. कृषि श्रमिक व्यवस्थापन र यन्त्रीकरणलाई प्रोत्साहन
- युवाहरूको वैदेशिक पलायनका कारण सिर्जित श्रमिक अभावलाई सम्बोधन गर्न कृषि यन्त्रीकरणलाई थप विस्तार गर्नुपर्छ ।
- कृषि उपकरणमा अनुदान तथा युवालाई कृषिमा आकर्षित गर्ने उद्यमशीलता र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
३. गुणस्तरीय कृषि सामग्रीको समयमै उपलब्धता सुनिश्चित गर्ने
- मल, उन्नत बिउ, विषादी तथा अन्य कृषि सामग्री समयमै र सहज रूपमा उपलब्ध हुने प्रभावकारी आपूर्ति प्रणाली विकास गर्नुपर्छ ।
- विगतमा देखिएका मल अभावजस्ता समस्या दोहोरिन नदिन वितरण प्रणालीलाई अझ सुदृढ बनाउनुपर्छ ।
४. किसानले उत्पादनको उचित मूल्य पाउने सुनिश्चित बजार प्रणाली विकास गर्ने
- सरकारले तोकेको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गरी किसानले सोही मूल्यमा उत्पादन बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्छ ।
- उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र बजार पहुँच विस्तार गर्ने नीति लागू गरी कृषि व्यवसायलाई नाफामूलक बनाउनुपर्छ ।
५. कृषि अनुसन्धान, प्रविधि विस्तार र परामर्श सेवामा लगानी बढाउने
- उन्नत बिउ, सन्तुलित मल व्यवस्थापन, जलवायु अनुकूल खेती प्रणाली तथा आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्न कृषि परामर्श सेवालाई प्रभावकारी बनाउनुपर्छ ।
- अनुसन्धान, किसान तालिम तथा डिजिटल कृषि सूचना प्रणालीमार्फत उत्पादकत्व र कृषिको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्छ ।
रोपाइँ केवल खेतमा बिरुवा सार्ने काम होइन । यो किसानको आशा, परिवारको श्रम, प्रकृतिमाथिको विश्वास र राष्ट्रको खाद्य सुरक्षासँग जोडिएको अभियान हो । तर, जब किसानको पसिनाको मूल्य लागतभन्दा कम हुन्छ, तब रोपाइँको हरियालीभित्र पनि निराशाको रङ मिसिन थाल्छ ।
किसानलाई सम्मानित आम्दानी दिलाउन सकिएन भने भविष्यमा हरिया खेतभन्दा बाँझा जमिनको संख्या बढ्ने जोखिमलाई नकार्न सकिँदैन । त्यसैले अबको प्राथमिकता केवल उत्पादन बढाउने होइन, किसानको जीवन पनि समृद्ध बनाउने हुनुपर्छ । किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने, सम्मानजनक आम्दानी गर्ने र कृषिलाई आकर्षक तथा दिगो पेसाका रूपमा अपनाउन सक्ने वातावरण सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता हुनुपर्छ ।





