२३ भदौ, काठमाडौं ।
सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शन अझै उग्र बन्दै जाँदा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । राजधानीस्थित ट्रमा सेन्टरमा उपचाररत थप एक जना घाइते प्रदर्शनकारीले सोमबार ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या १५ पुगेको छ ।
अस्पताल स्रोतका अनुसार, मृतक गम्भीर चोटपटकका कारण केही दिनदेखि उपचारमा थिए । यससँगै ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
यस्तै, अन्य अस्पतालहरूमा पनि प्रदर्शनका क्रममा घाइते भएर उपचार गराइरहेका कतिपयको मृत्यु भएको छ । हालसम्म सिभिल अस्पतालमा ३, केएमसीमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाले ज्यान गुमाएका छन् ।
उता, आन्दोलनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन, तर चिकित्सकहरूले अवस्था अझै गम्भीर हुन सक्ने संकेत दिएका छन् ।





