मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

डाेरखबर समाचारदाता   ।   २०८३ भाद्र ३, बुधबार २०:२६

काठमाडौँ। सरकारले शिक्षक, विद्यालय कर्मचारी तथा प्रारम्भिक बाल विकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नेदेखि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्नेसम्मका ११ वटा निर्णय गरेको छ।

सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ।

त्यस्तै, माध्यमिक तह कक्षा ९–१० र आधारभूत तह कक्षा ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब सम्बन्धित तहका तृतीय श्रेणीका शिक्षकसरह कायम गर्ने निर्णय भएको छ।

सरकारले नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ।

बैठकले भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ तथा नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेका विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

यसैगरी, सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय भएको छ। उनलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको छ।

सरकारका यी निर्णयमध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित पारिश्रमिक वृद्धि तथा शिक्षकको तलबसम्बन्धी निर्णयले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र अनुदान कोटामा कार्यरत शिक्षकलाई प्रत्यक्ष प्रभाव पार्नेछ।

यी हुन् मन्त्रीपरिषद्का ११ निर्णय

१. सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने।

२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने।

३. भदौ ४ र ५ गते भारतमा हुने सीमा व्यवस्थापनसम्बन्धी जोइन्ट वर्किङ ग्रुपको १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने।

४. एसियन डिजास्टर प्रिपियरनेस सेन्टरको सब–सेन्टर (शाखा) नेपालमा स्थापना गर्न स्वीकृति दिने।

५. अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी गराउने।

६. प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने।

७. कक्षा ९–१० र कक्षा ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीसरह कायम गर्ने।

८. नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने।

९. भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने।

१०. नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने।

११. सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)मा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समावेशी शिक्षाको अभियानले ल्याउँदैछ सकारात्मक परिवर्तन

२०८३ भाद्र ३, बुधबार २०:२६
 कालिकोटका शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा–Leaving No One Behind परियोजनाले शिक्षाको पहुँच, गुणस्तर र समावेशितामा सकारात्मक परिवर्तन ल्याउँदै गएको छ। युरोपियन युनियनको आर्थिक सहयोग, सेभ द चिल्ड्रेनसँगको साझेदारी तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को कार्यान्वयनमा सञ्चालित परियोजनाले विद्यालय बाहिर रहेका, अपाङ्गता भएका तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। परियोजनाले विद्यालयमा समावेशी शिक्षा, GEDSI, बालमैत्री सिकाइ वातावरण, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, अभिभावक सचेतना र बालबालिकाको सहभागिता लगायतका क्षेत्रमा काम गर्दै आएको छ। परियोजनाका शिक्षा अधिकृत टोप राज चौलागाईंका अनुसार परियोजनाको मुख्य उद्देश्य कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने हो। उहाँले विद्यालय बाहिर रहेका तथा विभिन्न कारणले शिक्षामा पछाडि परेका बालबालिकाको पहिचान गरी उनीहरूलाई विद्यालयमा ल्याउने, विद्यालयमा टिकाउने र गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्ने कार्यलाई परियोजनाले प्राथमिकतामा राखेको बताउनुभयो। चौलागाईंका अनुसार अपाङ्गता भएका बालबालिकाको पहिचान, उनीहरूको विवरण IEMIS प्रणालीमा अभिलेखीकरण, आवश्यक सहयोग तथा छात्रवृत्तिको पहिचान र स्थानीय तहसँगको समन्वयमार्फत सेवा प्रवाहमा सहजीकरण भइरहेको छ। उहाँले भन्नुभयो, “समावेशी शिक्षा भनेको केही बालबालिकाका लागि मात्रै होइन, सबै बालबालिकाले समान अवसर पाउने वातावरण निर्माण गर्नु हो। त्यसका लागि विद्यालय, स्थानीय सरकार, शिक्षक, अभिभावक र समुदाय सबैको सहकार्य आवश्यक हुन्छ।” परियोजनाले छनोट गरेका नमुना विद्यालयमा Resource Hub स्थापना, समावेशी शैक्षिक सामग्रीको प्रयोग तथा समावेशी शिक्षा सूचक सुधार मा समेत सहजीकरण गरेको छ। यसबाट अपाङ्गता भएका तथा फरक आवश्यकता भएका बालबालिकाका लागि सहज सिकाइ वातावरण निर्माणमा सहयोग पुगेको छ। त्यस्तै Child Champion, Disability Champion, Youth Group, बाल कचहरी, अभिभावक सहयोग समूह तथा वडा तहका छलफल चौतारी जस्ता कार्यक्रममार्फत बालबालिका र युवाको नेतृत्व क्षमता विकाससँगै आफ्ना अधिकार तथा सवालमा आवाज उठाउने वातावरणसमेत निर्माण गरिएको छ। शिक्षा अधिकृत चौलागाईंका अनुसार परियोजनाको अर्को महत्वपूर्ण उपलब्धि भनेको स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको समन्वय र सहकार्य बढ्नु हो। उहाँले परियोजनाबाट सिकिएका सफल अभ्यासलाई आगामी दिनमा स्थानीय सरकार र विद्यालयको नियमित प्रणालीमै संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो। कालिकोटमा समावेशी तथा गुणस्तरीय शिक्षाको आधार निर्माणमा परियोजनाले गरिरहेको प्रयासले शिक्षाबाट टाढा रहेका बालबालिकाका लागि नयाँ अवसर सिर्जना गरेको छ। “कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस्” भन्ने मूल भावनालाई व्यवहारमा उतार्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक देखिन्छ।

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.