कालिकोटका शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा–Leaving No One Behind परियोजनाले शिक्षाको पहुँच, गुणस्तर र समावेशितामा सकारात्मक परिवर्तन ल्याउँदै गएको छ।
युरोपियन युनियनको आर्थिक सहयोग, सेभ द चिल्ड्रेनसँगको साझेदारी तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को कार्यान्वयनमा सञ्चालित परियोजनाले विद्यालय बाहिर रहेका, अपाङ्गता भएका तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
परियोजनाले विद्यालयमा समावेशी शिक्षा, GEDSI, बालमैत्री सिकाइ वातावरण, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, अभिभावक सचेतना र बालबालिकाको सहभागिता लगायतका क्षेत्रमा काम गर्दै आएको छ।
परियोजनाका शिक्षा अधिकृत टोप राज चौलागाईंका अनुसार परियोजनाको मुख्य उद्देश्य कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने हो। उहाँले विद्यालय बाहिर रहेका तथा विभिन्न कारणले शिक्षामा पछाडि परेका बालबालिकाको पहिचान गरी उनीहरूलाई विद्यालयमा ल्याउने, विद्यालयमा टिकाउने र गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्ने कार्यलाई परियोजनाले प्राथमिकतामा राखेको बताउनुभयो।
चौलागाईंका अनुसार अपाङ्गता भएका बालबालिकाको पहिचान, उनीहरूको विवरण IEMIS प्रणालीमा अभिलेखीकरण, आवश्यक सहयोग तथा छात्रवृत्तिको पहिचान र स्थानीय तहसँगको समन्वयमार्फत सेवा प्रवाहमा सहजीकरण भइरहेको छ।
उहाँले भन्नुभयो, “समावेशी शिक्षा भनेको केही बालबालिकाका लागि मात्रै होइन, सबै बालबालिकाले समान अवसर पाउने वातावरण निर्माण गर्नु हो। त्यसका लागि विद्यालय, स्थानीय सरकार, शिक्षक, अभिभावक र समुदाय सबैको सहकार्य आवश्यक हुन्छ।”
परियोजनाले छनोट गरेका नमुना विद्यालयमा Resource Hub स्थापना, समावेशी शैक्षिक सामग्रीको प्रयोग तथा समावेशी शिक्षा सूचक सुधार मा समेत सहजीकरण गरेको छ। यसबाट अपाङ्गता भएका तथा फरक आवश्यकता भएका बालबालिकाका लागि सहज सिकाइ वातावरण निर्माणमा सहयोग पुगेको छ।

त्यस्तै Child Champion, Disability Champion, Youth Group, बाल कचहरी, अभिभावक सहयोग समूह तथा वडा तहका छलफल चौतारी जस्ता कार्यक्रममार्फत बालबालिका र युवाको नेतृत्व क्षमता विकाससँगै आफ्ना अधिकार तथा सवालमा आवाज उठाउने वातावरणसमेत निर्माण गरिएको छ।
शिक्षा अधिकृत चौलागाईंका अनुसार परियोजनाको अर्को महत्वपूर्ण उपलब्धि भनेको स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको समन्वय र सहकार्य बढ्नु हो। उहाँले परियोजनाबाट सिकिएका सफल अभ्यासलाई आगामी दिनमा स्थानीय सरकार र विद्यालयको नियमित प्रणालीमै संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो।
कालिकोटमा समावेशी तथा गुणस्तरीय शिक्षाको आधार निर्माणमा परियोजनाले गरिरहेको प्रयासले शिक्षाबाट टाढा रहेका बालबालिकाका लागि नयाँ अवसर सिर्जना गरेको छ। “कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस्” भन्ने मूल भावनालाई व्यवहारमा उतार्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक देखिन्छ।





