काठमाडौं/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्ताव पारित गर्दै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बिवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै सकिएको हो ।गत असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।
पछिल्लो पटक साउन १३ गते तय गरिएको बैठक स्थगित भएपछि आज पहिलो पटक बसेको हो । आजको बैठकमा १३ जना सदस्यले आफनो धारणा राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अध्यक्षद्वयको प्रतिवेदन पारित भएसँगै दुई अध्यक्षको कार्यबिभाजन भएको छ, जसमा प्रधानमन्त्रीले सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टी चलाउने निर्णय भएको बताउनुभयो ।
छलफलमा प्रतिवेदनमा भएकादेखि बाहेक आज उठेका बिषयलाई पनि समेटिएको बताइएको छ । साथै बैठकले पार्टीको महाधिवेशन यहि चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा हुने र महाधिवेशनको तयारीका लागि कार्तिकको १५ देखि १७ सम्म केन्द्रित कमिटीको बैठक बोलाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।




