काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बाढीबाट प्रभावितका लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै एमालेले किसान र बाढी पीडितका लागि राहत ल्याउन सरकारसँग माग गरेको हो । बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै एमालेले पीडामा परेका किसान परिवारलाई राहत दिनुपर्ने जनाएको हो ।
यस्तै वर्षाका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसानहरूको पीडाप्रति सहानुभूति समेत व्यक्त गरेको छ । यस्तै बाढीका कारण सडक अवरुद्ध हुँदा यातायात लगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न समेत एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।





