डोरखबर/कालिकोट । आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटमा अन्य सेवाहरु निःशुल्क दिँदै आएको भएपनी एक महिना अघिबाट भिडियो एक्सरे सेवा संचालनमा आएको छ । भिडियो एक्सरे सेवा पनी नागरिकहरुलाई निःशुल्क दिएपछि नागरिकहरुमा हर्ष छाएको छ ।
गाउँघरमा आर्थिक र चेतनाको अभावमा धेरै नागरिकहरु औषधि उपचारबाट बन्चित रहेको बेला आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न सेवा निःशुल्क गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रले हरेक बिरामीलाई सहजरुपले स्वास्थ्य सेवा दिन जिल्लाभरका नागरिकहरुलाई बाथ रोगिहरुको लागि स्टीम वाथ, अन्य बिरामीको अवस्था हेरेर निःशुल्क स्वास्थ्य परिक्षण तथा भिडियो एक्सरे सेवालगायत अन्य सेवाहरु निःशुल्क वितरण गरिरहेको छ ।
विद्युत तथा सोलार र अन्य सामग्रीको अभावले कालिकोटमा रहेका अस्पताल, स्वास्थ्य सेवा केन्द्र, प्राईभेट मेडिकलतिर रहेका स्वास्थ्य सामग्रीहरुले काम गर्न नसक्दा सेवाग्राहीहरुले मर्का खेप्नु परेको छ । एकातिर चक्रो शुल्क, अक्रोतिर भनेको समयमा सेवा लिन नपाउनु यहाँका नागरिकहरुको पीडा छ ।
कालिकोटमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिकहरुका समस्यालाई मध्यनजर गर्दै भिडियो एक्सरे सेवालगायत आयुर्वेदबाट दिइने सेवाहरु निःशुल्क वितरण गर्दै आएको कार्यालय प्रमुख विरेन्द्रबहादुर केसीले बताए ।
सानादेखि ठूला सबै नागरिकहरुलाई स्थानिय जडिबुटिबाट उत्पादित औषधिको माध्ययमबाट उपचार गरिरहेको छ । विभिन्न रोगको सफल उपचार गर्ने बताउँदै कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा पाईने जडिबुटीबाट औषधि उत्पादन गरी निःशुल्क सेवा दिँदै आएको वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए ।
कालीकोट जिल्लाका नगरपालिका र गाउँपालिकामा पाईने अमला, पाएल्स रोगको लागि बकाईनो, हर्रो, बर्रो गुर्जो जामुन , कुरिल्लो जस्ता विभिन्न जडिबुटिहरु संकलन गरि अनेक रोगीहरुको उपचार गर्ने लक्ष्य राखिएको वैद्य पाण्डेले बताए ।स्थानिय स्तरमा पाईने विभिन्न किसिमका जडिबुटिहरु संकलन गरि औषधि उत्पादन गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्दै आयुर्वेदका औषधिहरु उत्पादन गरी निःशुल्क सेवा गरिरहेको कार्यालय प्रमुख बिरेन्द्र बहादुर केसीले बताए ।
उनका अनुसार अहिले आयुर्वेद केन्द्रमा स्नेहन स्वयधन,आमा कार्यक्रम,जेष्ट नागरिक प्रर्वद्धन कार्यक्रम,औषधी निर्माण सेवा,विरामी भर्ना सेवा, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम लगाएतका विभिन्न कार्यक्रमहरु निशुल्क संचालन गरेको बताउदै नागरिकहरुलाई आयुर्वेद सेवा लिन समेत आग्रह गरेका छन् ।
खाँडाचक्र नगरपालिका ५ मा दाडिमबोर्ड आयुर्वेद औषधालय,रास्कोट नगरपालिकामा रास्कोट आयुर्वेद औषधालय संचालनमा रहेको कार्यालय प्रमुख केसीले बताए । जुनसुकै विरामीका लागि भिडियो एक्सरे सेवा, वाथ रोगिहरुको लागि जुनसुकै बेला पनी स्टीम बाथ लगाएत आयुर्वेद औषधीहरु कार्यालय समयमा भर्ना भए निशुल्क रुपमा वितरण गरिने डाक्टर नवराज बोहोरा बताएका छन् ।
आयुवेद्र सेवा प्रभाकारी गराउनका लागि कालिकोटका नागरिकहरुलाई जुनसुकै बेला पनी सहज वातावरण गराउन कार्यालय कर्मचारीहरु अग्रसर रहेको डाक्टर बोहोराको भनाई छ । आयुर्वेद औषधालयमा विभिन्न किसीमको औषधि उपचार हुने भएपछि कालिकोटका नागरिकहरु हर्षित देखिएका छन् ।
आयुर्वेद औषधिको महत्व बझुेका नागरिकहरुले सेवा लिए पनि अन्य नागरिकहरु जस्ले आयुर्वेदको महत्व थाहा नपाएकै कारण सेवा लिनेको संख्यामा भने कमि देखिन्छ । नयाँ व्यवस्थापनका साथ आयुर्वेद औषधिहरु निशुल्क पाइने भएपछि यहाँका स्थानियहरुले जुम्ला, सुर्खेत, नेपालगञ्ज जस्ता शहरमा गएर आयुर्वेद औषधि किनेर खानुपर्ने दिन गएको शुभकालिका गाउँपालिका–३ का मुस्कान अधिकारीले बताएका छन् ।
मुस्कान मात्रै हैनन् खाँडाचक्र नगरपालिका– ५ कि फुलमाया चौलागाईंले ढाड दुख्ने,दमको समस्या, कपाल दुख्ने लगायतका बिरामीका कारण असहज वातावरण भएको थियो अहिले आयुर्वेद स्वास्थ्य केन्द्रले औषधी दिन थालेपछी र दक्ष डाक्टरको साथ पाएपछी आफुलाई सहज भएको बताईन् ।
जुनसुकै विरामीका लागि कालिकोटमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिकहरुलाई निशुल्क सेवा दिने बताएको छ । कालिकोटका स्थानीय तहसंग समन्वय गरी आयुर्वेद औषधिका लागि जडिवुटीहरु संकलन गर्ने काम गरिरहेको छ ।





