कालिकोट बैशाख २८ । खाँडाचक्र नगरपालिका–८ दशलाकी १४ वर्षीया बालिका र जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ बड्की निवासी १६ वर्षीय बालकबीच हुन लागेको बालविवाह क्याक्मा र प्रहरीको संयुक्त पहलमा रोकिएको छ ।
बालक पक्षले ०८३ वैशाख २४ गते राति बालिकालाई घरबाट भगाएपछि बालविवाह विरुद्धको साझा अभियान सञ्जाल (क्याक्मा) कालिकाेटका जिल्ला अध्यक्ष कालीबहादुर मल्लले जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रश्श्ीलाई जानकारी गराएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मी र क्याक्मा जुम्लाका अध्यक्ष मानदत्त रावलको समन्वयमा वैशाख २५ गते बालविवाह रोकिएको हो ।
कक्षा ९ मा अध्ययनरत बालिकालाई भगाएर जुम्लास्थित बालकको घरमा पु¥याइएको थियो । जुम्ला प्रहरीले प्रहरी चौकी बड्कीमार्फत खोजतलास गरी बालिकालाई उद्धार गरेर आमाको जिम्मा लगाउँदै कालिकोट पठाएको जनाएको छ । बालक पक्षले वैशाखमै लगन जुराएर विवाह गर्ने तयारी गरेको थियो ।
बालिकाकी आमा मुनपुरा नेपालीले क्याक्मा,इन्सेक र प्रहरीको सहयोगमा छोरीलाई बालविवाहबाट जोगाउन सफल भएको बताउँदै सहयोग गर्ने सबै निकाय र व्यक्तिप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीले बालविवाहले शिक्षा अवरुद्ध हुने, स्वास्थ्यमा समस्या आउने, मानसिक तनाव बढ्ने तथा घरेलु हिंसा निम्त्याउने भएकाले यसको अन्त्यका लागि मानव अधिकारकर्मी, पत्रकार र नागरिक समाजले प्रहरीसँग सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपालको मुलुकी देवानी संहिता, २०७४ अनुसार विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्छ । २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह मानिने तथा बालविवाह गर्ने वा गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ ।





