काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय सदस्य शेखर कोइराला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पौडेल र कोइराला बुधबार साँझ ओलीलाई भेट्न बालकोट पुगेको भन्दै फरकधार अनलाइनले समाचार प्रकाशित गरेको हो।
सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि कांग्रेस नेता कोइरालाले विरोध गरेका थिए। कोइरालाले प्रधानमन्त्री देउवाबाट भूल भएको बताएका थिए। उनले अध्यादेशबाट राजकाज चलाउने सोचलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका थिए। उनले भनेका थिए, ‘सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने साेचकाे समर्थन गर्न सकिन्न। सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो। याे चुक प्रधानमन्त्रीबाट भयाे। यो कांग्रेसको संस्कार होइन।’
उता प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि अध्यादेश विरुद्ध सडक संघर्ष गरिरहेको छ। सरकारले ल्याएको अध्यादेश र एमाले विभाजन भएसँगै ओली र कांग्रेस नेताहरुसँगको भेटलाई अर्थपूर्ण हिसाबले हेरिएको छ।





