के छ इनम साप्कोटाको बयान : काँग्रेस आधिकारिकताको लागि १८ करोड डिल देखि न्यायाधीश, नेता र व्यवसायी सम्म एकैसाथ पोले

डाेरखबर समाचारदाता   ।   २०८३ कार्तिक १७, सोमबार ०९:२१

डाेरखबर/काठमाण्डौ-पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाली युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडियो बयानमा कयौँ उच्च पदस्थ र व्यापारीसम्मलाई पोलेका छन्।

हाल जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा रहेका उनले न्यायिक, राजनीतिक र व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको नाम लिँदै करोडौँ रुपैयाँको कारोबारबारे खुलासा गरेका छन्।

गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटाले जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा दिएको अडियो बयानमा काठमाण्डु जिल्ला अदालतमा विचाराधीन मुद्दा मिलाउन तीन करोड रुपैयाँको डिल भएकोदेखि नेपाली कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको कारोबार भएको दाबीसम्म गरेका छन्।

उनको बयानमा पूर्वप्रधानन्यायाधीश जबरा, प्रभुशमशेर जबरा (चोलेन्द्रका भाइ) भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा (पार्टीको आधिकारिकतासम्बन्धी विवादमा), कांग्रेसकै पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ, अर्का नेता दीपक खड्का र सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीको नाम आएको छ।

सापकोटाले बयानका क्रममा आफू विभिन्न प्रभावशाली व्यक्तिहरूसँग व्यावसायिक साझेदारीमा रहेको, उनीहरूमार्फत् रकम परिचालन गरेको र केही न्यायिक तथा राजनीतिक विषयमा आर्थिक लेनदेन भएको दाबी गरेका छन्। उनको बयानमा उल्लेख भएअनुसारका कारोबार वास्तवमै भएका थिए वा थिएनन् र नाम जोडिएका व्यक्तिहरूको भूमिका के थियो भन्ने विषय प्रहरीको अनुसन्धानबाट खुल्दै जानेछ।

तीन करोडको डिल, जबरा र गुरुङको नाम

सापकोटाको बयानको सबैभन्दा गम्भीर दाबी काठमाण्डु जिल्ला अदालतमा विचाराधीन एउटा मुद्दा मिलाउने विषयसँग सम्बन्धित छ। उनले उक्त मुद्दा मिलाउन तीन करोड रुपैयाँमा डिल भएको बताएका छन्।

ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलका अध्यक्ष नवीन तुलाधरमार्फत अदालतमा विचाराधीन मुद्दाको सेटिङका लागि २० लाख रुपैयाँ आएको बयान उनले दिएका छन्। उनले उक्त प्रकरणमा जम्मा तीन करोड रुपैयाँको डिल भएको खुलाएका छन्।

रकम पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि गएको दाबी गरेका छन्। बयानमा उनले उक्त पैसा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङकहाँ पुगिसकेको बताएका छन्।

सापकोटाले प्रभुशमशेर जबराबाट आएको पैसा भाटभटेनीमार्फत घुमाएको पनि बताएका छन्। उनले मीनबहादुर गुरुङ र प्रभुशमशेर जबरा पनि आफूहरूसँग साझेदारीमा रहेको दाबी गरेका छन्।

उनको यो बयानले न्यायिक प्रक्रियामा आर्थिक लेनदेनमार्फत प्रभाव पार्ने प्रयास भएको थियो कि भन्ने गम्भीर प्रश्न पनि उठाएको छ। तर तीन करोडको डिल भएको, रकम कसले दिएको, कसले लिएको र त्यसको उद्देश्य के थियो भन्ने कुराबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको छ।

कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको दाबी

सापकोटाको बयानमा आएको अर्को राजनीतिक रूपमा संवेदनशील विषय नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद हो।

उनले कांग्रेसमा गगनकुमार थापाको आधिकारिकताका लागि १८ करोड रुपैयाँको डिल भएको दाबी गरेका छन्। उक्त प्रकरणमा सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीलाई तीन करोड रुपैयाँ दिएको उनको बयानमा उल्लेख छ।

सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूलाई गगन थापा र निर्वाचन आयोगका सगुनशमशेर राणालाई सहयोग गर्न भनेको पनि दाबी गरेका छन्।

उनले कांग्रेस नेता दीपक खड्काले आफूलाई जबरासँग चिनजान गराएको बयान दिएका छन्। यसैगरी कांग्रेसका पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठको जग्गासमेत आफ्नो नाममा लिने प्रक्रिया अघि बढेको उनले बयानमा उल्लेख गरेका छन्।

सापकोटाको यो बयानले कांग्रेसको आन्तरिक विवाद र न्यायिक प्रक्रियाबीच कुनै आर्थिक लेनदेन वा अनौपचारिक पहुँचको सम्बन्ध हुन सक्न गम्भीर प्रश्न उठाएका छन्।

स्वीसदेखि बेल्जियमसम्मका बैंकमा खाता

सापकोटाले आफ्नो आर्थिक कारोबार र बैंक खाताबारे पनि बयानमा विवरण दिएका छन्। उनले बयानमा आफूले अहिलेसम्म २७ वटा देश घुमिसकेको बताएका छन्।

इनमले जर्मन र स्वीस बैंकमा पनि आफ्नो खाता रहेको खुलाएका छन्। पछिल्लो समय बेल्जियमको वाइज बैंकबाट कारोबार गरिरहेको उनले बताएका छन्। नेपालमा एनआईएमबी र सिटिजन्स बैंकमा खाता रहेको बयान उनले दिएका छन्।

उता भारतमा पढ्दा भारतीय स्टेट बैंक (एसबीआई) मा खाता खोलेको उनले उल्लेख गरेका छन्। भारतबाट नेपाल फर्किएपछि प्रभु बैंकमा पनि खाता खोलेको उनले बताएका छन्।

उनले अहिलेसम्म क्रेडिट कार्डको ऋण नतिरेको समेत बयानमा उल्लेख गरेका छन्। आफूले शेयर कारोबारी अतितलाल श्रेष्ठसँग मिलेर शेयर कारोबार गरेको पनि खुलाएका छन् । तर त्यसमा लगानी भएको रकम आफ्नै भएको उनको दाबी छ। सबै पैसा नयाँबानेश्वरस्थित आई फ्लिक्स मलको कारोबार सेटल गर्न लगाएको पनि उनले बयान दिएका छन्।

काठमाण्डु पाटीबाट साभार गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइतेको उद्धार

२०८३ कार्तिक १७, सोमबार ०९:२१
काठमाडौँ । सोलुखुम्बुको फेरिचेमा म‌गलबार बिहान दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको अन्दस्पट मृत्यु भएको हो । मृतक कुन देशका नागरिक हुन भन्ने अहिलेसम्म पहिचान नखुलेको प्रमुख […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.