डोरखबर /कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कालिकोट जिल्ला अस्पतालको नवनिर्मित ५० सैयाको भवन समोबार औपचारिक उद्घाटन गर्नुभएको छ ।
भवन उदघाटन कार्याक्रममा मुख्यमन्त्री कँडेलले भवनले मात्र जिल्ला अस्पताल पूर्ण नहुने भएकाले अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । साथै मुख्यमन्त्री कँडेलले उद्घाटन समारोहमा गुणस्तरमुखी सेवामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अस्पतालले लामो समयदेखि साँगुरो टिनको टहरामा औषधि र चिकित्सकको अभावमा सेवा दिँदै आएको थियो । नयाँ भवन निर्माणसँगै अब टिनको टहरामुक्त बनेको अस्पतालले गुणस्तरीय सेवा दिन अपेक्षा गरिएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख डा. भिष्म पोख्रेलका अनुसार अब अस्पतालले सुविधायुक्त भवनबाट बिरामीलाई सेवा दिन सहज हुने अपेक्षा गरिएको छ, तर दक्ष जनशक्ति र थप उपकरणको आवश्यकता रहेको बताउनु भयो । यसैगरी, उद्घाटन कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले पनि औषधि, उपकरण र विशेषज्ञ चिकित्सकको आवश्यकता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिनु भयो ।
उद्घाटन समारोहमा कर्णाली प्रदेश उपसभामुख यशोदा न्यौपाने, प्रदेश सभा सदस्य हिक्मत विष्ट, दुर्गबहादुर रावत, विभिन्न राजनीतिक दलका प्रतिनिधि,स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।