कालिकोट चैत २८ । यस जिल्लाका विभिन्न ठाउँमा आएको भारि असिनापानीले गहुँ,जहुँ तरकारी,फलफूल लगाएतका बाली नष्ट गरेपछि यहाँका किसानहरु मर्कामा परेका छन् ।
चैत २७ गते गए राती परेको असिनापानीले नरहरिनाथ गाउँपालिका ४,५,६,८ र ९ नम्वर वडा,खाँडाचक्र नगरपालिका वडा नं १, २, ३,८ र ९,महावै गाउँपालिकाका १,२,३ र ४ नम्वर वडा लगायतका ठाउँमा परेको असिनापानीले किसानको पाक्न लागेको बालीनाली चुटचाट पारेपछि वर्खाको समयमा भोकमरीको समस्या उत्पन्न हुने भएको छ ।
अविरल वर्षासँगै परेको असिनापानीले यहाँका अधिकाशं किसानको गहुँबालीमा क्षति भएको नरहरिनाथ गाउँपालिका–९ का वडा अभ्यक्ष प्रदिप बोहोराले बताउनुभयो । उहाँले भनुभयो, “सबै भन्दा बढी नरहरिनाथ गाउँपालिका ५,६,८ र ९ मा क्षति भएको छ । असिनापानीले यहाँका लालु,मालकोट लगाएतका विपन्न दलित बस्तीका किसानको गहुँबालीमा ठुलो क्षति गरेको छ ।”
हिउँदमा लगाएको गहुँ अहिले एकासी असिनापानीले नष्ट पारेपछि किसानहरु निकै चिन्तित भएको महावै गाउँपालिका–३ का वडाअध्यक्ष पदमबहादुर सिंहले बताउनुभयो । साथै उहाले किसानले हिउँदमा लागालाग गरेर लगाएको हिउँदेबालीलाई अहिले एकासी असिनापानीले क्षति गरेपछि यहाँका किसानहरु चिन्तामा परेको सुनाउनु भयो ।
वर्खाको समय पेट पाल्नका लागि हिउँदमा गहुँबाली लगाएको,अहिले पाक्न थालेको समय यसरी असिनापानीले सबै नष्ट पारेपछि वर्खाको समय के खाएर बस्ने भन्ने चिन्ता पर्न थालेको खाँडाचक्र नपा–८ का रुप्सिके सार्कीले गुनासो व्यक्त गर्नु भयो । उहाँले असिनापानीले गहुँबाली सँगै यहाँका किसानले लगाएको प्याज लसुन आलु धनियाँ लगायतका तरकारीबालीमा समेत ठुलो क्षति भएको वताउनु भयो ।
असिनापानीले गहुँबालीमा मात्र क्षति नभई यहाँका किसानको तरकारी तथा फलफुल खेतीमा समेत ठुलो क्षति गरेको खाँडाचक्र नपा–८ का वडा अध्यक्ष नन्दबहादुर मल्लले बताउनुभयो ।
असिनापानीले लाखौंको अन्नबाली नष्ट,किसानहरु मर्कामा
