कालीकोट, असार २८। वर्षौँदेखि पहिरोका कारण अवरुद्ध रहेको पलाता गाउँपालिका–७ को गडवाली सिँचाइ कुलो एमालेका युवा नेता तथा कर्णाली प्रदेश कमिटी सदस्य लक्ष्मण बहादुर बमको व्यक्तिगत सहयोगपछि पुनः सञ्चालनमा आएको छ। कुलो सञ्चालनमा आएपछि लामो समयदेखि सिँचाइ सुविधाबाट वञ्चित किसानका खेतमा पानी पुगेको छ।
पहिरोका कारण कुलो भत्किएपछि धान रोपाइँको मुख्य समयमा किसानहरूले सिँचाइ गर्न नसक्ने अवस्था सिर्जना भएको थियो। समस्या समाधानका लागि बमले आफ्नो व्यक्तिगत पहलमा करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका थिए। उनले २०० एमएमका २३ थान पाइप उपलब्ध गराएपछि स्थानीयवासीको श्रमदानमा कुलो मर्मत गरिएको हो।
कुलो सञ्चालनमा आएपछि अहिले गडवाली क्षेत्रका किसानहरूले सहज रूपमा खेतमा सिँचाइ गर्न थालेका छन्। समयमै पानी पुगेपछि यस वर्ष धान उत्पादनसमेत बढ्ने अपेक्षा गरिएको छ।
स्थानीय धर्मसिंह धामीले बमको सहयोगले वर्षौँदेखिको समस्या समाधान भएको बताउँदै भने, “धान रोप्ने समयमा कुलो अवरुद्ध हुँदा हामी निकै समस्यामा थियौँ। लक्ष्मण बमले व्यक्तिगत रूपमा सामग्री सहयोग गरेपछि कुलो मर्मत भयो र अहिले खेतमा पानी पुगेको छ। यसका लागि हामी उहाँप्रति आभारी छौँ।”
युवा नेता लक्ष्मण बहादुर बमले किसानको समस्या देखेर व्यक्तिगत रूपमा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि जनताका आवश्यकतामा साथ दिने प्रतिबद्धता व्यक्त गरे। उहाँले भन्नुभयो, “कृषकको समस्या समाधान गर्नु सबैको साझा जिम्मेवारी हो। सानो सहयोगले पनि ठूलो राहत पुग्ने भएकाले आफ्नो तर्फबाट सकेको सहयोग गरेको हुँ।”
स्थानीयका अनुसार गडवाली सिँचाइ कुलो सञ्चालनमा आएपछि पलाता–७ का दर्जनौँ किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। लामो समयदेखि अलपत्र रहेको कुलो पुनः सञ्चालनमा आउनुलाई स्थानीयले कृषि उत्पादन वृद्धि र किसानको राहतसँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।





