२० जेठ, काठमाडौं — रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षको प्रतीक्षापछि पहिलोपटक इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको उपाधि जितेको छ। मंगलबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुले ऐतिहासिक सफलता हासिल गर्यो।
बेंगलुरुले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। विराट कोहलीले ४३ रनको योगदान दिए भने कप्तान रजत पाटिदारले २६ रन बनाए। अन्तिम ओभरहरूमा पञ्जाबका बलरहरूको उत्कृष्ट प्रदर्शनले बेंगलुरुको स्कोर सीमित रह्यो।
जवाफमा पञ्जाब किङ्सले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र १ चौका प्रहार गरेपनि टोलीलाई जित दिलाउन सकेनन्। शशांक ३० बलमा अविजित ६१ रन बनाए।
बेंगलुरुका बलरहरू भुवनेश्वर कुमार र क्रुणाल पाण्ड्याले २(२ विकेट लिए भने जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट लिए।
यो जितसँगै बेंगलुरुले २००९, २०११ र २०१६ मा फाइनलमा पराजित भएपछि पहिलोपटक आईपीएल उपाधि जित्न सफल भयो।
विराट कोहलीका लागि यो उपाधि विशेष महत्वको थियो। १८ वर्षदेखि बेंगलुरुसँगै रहेका कोहली उपाधि जितेपछि भावुक भए। उनकी पत्नी अनुष्का शर्माले स्ट्यान्डमा खुसी व्यक्त गर्दै कोहलीको आँसु देखिन्।
बेंगलुरुको यो ऐतिहासिक जितले टोलीका समर्थकहरूलाई उत्साहित बनाएको छ। सामाजिक सञ्जालमा प्रशंसकहरूले टोलीलाई बधाई दिँदै कोहलीको समर्पणको प्रशंसा गरेका छन्।





