सुर्खेत । सरकारले आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको हो बैठकले फागुन २१ गतेबाट रिक्त हुन लागेको पदमा १२ गते निर्वाचन गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीका अनुसार सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ।
यस्तै नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवाको अधिकृत १२ औँ तहमा डा.श्यामसुन्दर यादव, डा.भिमसेन तिङ्करी र डा.गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको कार्कीले बताए ।
मन्त्रीपरिषद बैठकले एशीयन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाईजेशनको ५९ औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्विकृत गरेको छ ।
यस्तै रक्षामन्त्री डा.मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने यूएन पिस किपिङ मिनिष्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको प्रवक्ता कार्कीले जनाकारी दिए ।





