गाउँपालिका स्तरीय बाल सञ्जाल गठन

Chhatra Roka magar

कालिकोट   ।   २०८३ असार २८, आईतवार १७:५६

कालीकोट, असार २८। शुभकालिका गाउँपालिकामा बाल अधिकारको संरक्षण, बाल सहभागिता र नेतृत्व विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित २३ सदस्यीय गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ।
VDSEF नेपालको आर्थिक सहयोग, शुभकालिका गाउँपालिका बाल सञ्जालको आयोजना तथा सहयात्रा तेस्रो परियोजना अन्तर्गत आयोजित दुईदिने क्षमता विकास तथा सञ्जाल गठन कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रम शुभकालिका गाउँपालिकाका आठै वडाका बाल क्लबका प्रतिनिधिहरूको सहभागितामा VDSEF नेपालको कार्यालयमा सम्पन्न भएको थियो।


कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बाल सहभागिता, नेतृत्व विकास तथा बाल क्लब सञ्जालको प्रभावकारी परिचालनका विषयमा छलफल, प्रस्तुतीकरण, समूह कार्य, खेल र अभ्यासमूलक गतिविधिमार्फत सहभागीहरूको क्षमता अभिवृद्धि गरिएको थियो। दलित, जनजाति, अपाङ्गता भएका तथा जोखिममा रहेका परिवारका बालबालिकाको सहभागितालाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

कार्यक्रमबाट कविराज बि.क अध्यक्ष, भद्रकला बि.क  उपाध्यक्ष, अर्यान शाही  सचिव,शुझता अधिकारी  कोषाध्यक्ष, डिल्ली शाही  सहसचिव तथा पार्वती राेका मगर सदस्यसहित २३ सदस्यीय गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ। साथै, कविराज बि.कको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ।

नवनिर्वाचित अध्यक्ष कविराज बि.कले बालबालिकाको आवाज स्थानीय सरकारसम्म प्रभावकारी रूपमा पुर्‍याउन सञ्जाल सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “हामी बालबालिका राष्ट्रका भविष्यका स्तम्भ मात्र होइनौं, वर्तमानका जिम्मेवार साझेदार पनि हौं। बाल अधिकारको संरक्षण, नेतृत्व विकास र समुदायमा सकारात्मक परिवर्तनका लागि हाम्रो सञ्जाल सक्रिय रूपमा काम गर्नेछ।”

कार्यक्रमको सहजीकरण सरिता खत्री र रञ्जिता ओलीले गर्नुभएको थियो। सहयात्रा तेस्रो परियोजना टोलीको सहजीकरण तथा पर्यवेक्षणमा सम्पन्न कार्यक्रमले बालमैत्री स्थानीय शासन प्रवर्द्धन, बाल सहभागिताको संस्थागत विकास तथा बाल अधिकारप्रति समुदायलाई थप जिम्मेवार बनाउने विश्वास गरिएको छ।

VDSEF नेपालका प्रतिनिधिहरूले नवगठित बाल सञ्जाललाई आवश्यक क्षमता विकास, समन्वय र सहकार्यमार्फत थप सशक्त बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमपछि गाउँपालिका स्तरमा नियमित मासिक बैठक सञ्चालन गरी बालबालिकाका सरोकारका विषयमा योजनाबद्ध रूपमा काम गर्ने निर्णयसमेत गरिएको छ।
स्थानीय सरोकारवालाहरूले यस कार्यक्रमलाई शुभकालिका गाउँपालिकामा बाल अधिकार र बाल सहभागितालाई संस्थागत गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वर्षौँपछि किसानका खेतमा पुग्यो पानी

२०८३ असार २८, आईतवार १७:५६
कालीकोट, असार २८। वर्षौँदेखि पहिरोका कारण अवरुद्ध रहेको पलाता गाउँपालिका–७ को गडवाली सिँचाइ कुलो एमालेका युवा नेता तथा कर्णाली प्रदेश कमिटी सदस्य लक्ष्मण बहादुर बमको व्यक्तिगत सहयोगपछि पुनः सञ्चालनमा आएको छ। कुलो सञ्चालनमा आएपछि लामो समयदेखि सिँचाइ सुविधाबाट वञ्चित किसानका खेतमा पानी पुगेको छ। पहिरोका कारण कुलो भत्किएपछि धान रोपाइँको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.